27/07/2026
हरेक वर्ष विश्वभर ३ लाखभन्दा बढी मानिसले डुबेर ज्यान गुमाउँछन्। विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिण-पूर्व एशिया क्षेत्र( नेपाल WHO काे दक्षिण-पूर्व एशिया क्षेत्रमा रहेको छ ) मा मात्र प्रत्येक वर्ष करिब ८३ हजार मानिसको डुबेर मृत्यु हुने गरेको छ। डुबेर मृत्यु हुनु बालबालिका तथा किशोरकिशोरीको मृत्युका प्रमुख कारणहरूमध्ये एक हो। विशेषगरी नदी, पोखरी, ताल, समुद्री तट तथा बाढीको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने परिवारहरूका लागि यो जोखिम दैनिक जीवनको यथार्थ हो, कुनै टाढाको तथ्याङ्क मात्र होइन।
यस वर्ष विश्व डुबाइ रोकथाम दिवस (World Drowning Prevention Day) को नारा "डुबाइ रोकथामका लागि सबै मिलेर अघि बढौँ" (Unite to Turn the Tide) रहेको छ। यसको सन्देश स्पष्ट छ—डुबाइ रोकथाम कुनै एक मन्त्रालय, एक पेशा वा एक समुदायको मात्र जिम्मेवारी होइन। यसका लागि सरकार, विद्यालय, स्वास्थ्यकर्मी, यातायात निकाय, विपद् व्यवस्थापन संस्था, रोजगारदाता, सामुदायिक अगुवा, परिवार तथा युवाहरू सबैको साझा प्रयास आवश्यक छ।
सन् २००० यता विश्वभर डुबेर हुने मृत्युको दर ३८ प्रतिशतले घटेको छ। दक्षिण-पूर्व एशिया क्षेत्रमा यो दर झण्डै ५० प्रतिशतले घटेको छ। बङ्गलादेशमा सामुदायिक बाल हेरचाह र जीवनरक्षक पौडी कार्यक्रमले बालबालिकामा डुबेर हुने मृत्यु उल्लेखनीय रूपमा घटाएको छ। थाइल्याण्डको Merit Maker कार्यक्रमले बालबालिकाको डुबेर हुने मृत्युमा ठूलो कमी ल्याएको छ। नेपालले बाढी पूर्वतयारी तथा प्रारम्भिक चेतावनी प्रणाली सुदृढ बनाउँदै राष्ट्रिय रणनीति विकास गर्ने योजना अघि बढाएको छ। भारतले स्वास्थ्य, शिक्षा, यातायात तथा विपद् व्यवस्थापनलाई समेट्ने बहु-क्षेत्रीय दृष्टिकोण विस्तार गरिरहेको छ। श्रीलंकाको स्थान-आधारित मौसम सूचना तथा चेतावनी प्रणाली Saryuru ले चार वर्षमा तटीय क्षेत्रमा आँधीसँग सम्बन्धित मृत्यु ७० प्रतिशतले घटाएको छ। माल्दिभ्स, नेपाल तथा अन्य सदस्य राष्ट्रहरूले पनि जलजन्य जोखिमबाट नागरिकको सुरक्षा सुनिश्चित गर्न रणनीति तथा कार्ययोजना विकास गरिरहेका छन्।
यद्यपि चुनौतीहरू अझै बाँकी छन्। डुबेर हुने मृत्युको ठूलो भार अझै पनि बालबालिकाले नै वहन गरिरहेका छन्। धेरै जलस्रोत नजिकका समुदायमा सुरक्षित पूर्वाधार, निगरानीसहितको बाल हेरचाह तथा पानीसम्बन्धी सुरक्षा शिक्षा अझै पर्याप्त रूपमा उपलब्ध छैन। धेरै स्थानमा समस्या ज्ञानको अभाव होइन, प्रभावकारी कार्यान्वयनको अभाव हो।
डुबाइ रोकथामका लागि विश्वव्यापी रणनीति (Global Strategy for Drowning Prevention) ले सन् २०३५ सम्म डुबेर हुने मृत्यु ३५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ। यस लक्ष्यलाई तीव्र बनाउन WHO ले "PROTECT: Seven Strategies to Prevent Drowning" नामक प्राविधिक मार्गदर्शिका सार्वजनिक गर्दैछ। यसले नीति निर्माताहरूलाई प्रमाणमा आधारित डुबाइ रोकथाम कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक नीतिगत ढाँचा प्रदान गर्दछ। PROTECT ले सुरक्षित भौतिक पूर्वाधार, उद्धार क्षमता, पेशागत सुरक्षा, सुरक्षित यातायात, पौडी तथा पानी सुरक्षा शिक्षा, बाल हेरचाह प्रणाली, साथै बाढी र अन्य आपत्कालीन अवस्थाको पूर्वतयारीलाई सुदृढ बनाउन जोड दिन्छ।
हामी दक्षिण-पूर्व एशिया क्षेत्रका सबै सदस्य राष्ट्र तथा साझेदारहरूलाई डुबाइ रोकथामका प्रयासलाई अझ तीव्र बनाउन, उच्च जोखिममा रहेका समुदायको सुरक्षाका लागि प्रभावकारी नीति तथा कार्यक्रमहरूमा लगानी गर्न, र प्रत्येक बालबालिका तथा परिवारलाई पानीको वरिपरि सुरक्षित जीवन सुनिश्चित गर्न आह्वान गर्दछौँ।
हामी सबैको संयुक्त प्रयासले डुबेर हुने मृत्युजस्तो मौन, बेवास्ता गरिएको तर पूर्ण रूपमा रोक्न सकिने दुःखद घटनालाई सार्वजनिक स्वास्थ्यको सफलताको कथामा परिवर्तन गर्न सक्छौँ।
विश्व डुबाइ रोकथाम दिवसको अवसरमा, आउनुहोस्—डुबाइ रोकथामका लागि सबै मिलेर अघि बढौँ।
-डा. क्याथारिना बोएमे
कार्यवाहक क्षेत्रीय निर्देशक, विश्व स्वास्थ्य संगठन (WHO) दक्षिण-पूर्व एशिया क्षेत्र