18/12/2025
https://www.facebook.com/share/1BxgX9iPnL/
कृषिमा १४ खर्ब लगानी भए पनि प्रतिफल शून्य, किसानको ‘रिस्क’ नघटेसम्म सुधार असम्भव : गभर्नर डा. पौडेल
~~ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुबाट १४ खर्ब रुपैयाँभन्दा बढी लगानी प्रवाह भए पनि त्यसको प्रभाव नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाल कृषि अर्थशास्त्र समाजको १९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर डा. पौडेलले कृषि कर्जाको आकार (भोल्युम) ठूलो देखिए पनि उत्पादकत्व वृद्धिमा यसको असर शून्यप्रायः रहेको बताएका हुन्।
कर्जाको दुरुपयोग र ‘डिजाइन’ मा त्रुटि
गभर्नर पौडेलले वित्तीय उत्पादनहरूको ‘डिजाइन’ नै त्रुटिपूर्ण रहेको औंल्याए। उनले भने, "हामीले कृषिमा ६ खर्ब ८८ अर्ब प्रत्यक्ष र लघुवित्तसहित १४ खर्ब लगानी खन्याएका छौँ। तर, रुकुममा कृषि ऋण अमेरिकी भिसाका लागि प्रयोग भई भुक्तानीमा समस्या देखिएको जस्ता उदाहरणले कर्जाको दुरुपयोग पुष्टि गर्छ। बैंक म्यानेजर र किसानबीचको समन्वयको कडी टुटेको छ।"
राष्ट्र बैंकको नीतिगत लचकता
कृषि क्षेत्रको समस्या सम्बोधन गर्न केन्द्रीय बैंकले नीतिगत सहजीकरण गरिरहेको उनले जानकारी दिए। गभर्नर पौडेलले भने, "हामीले साना किसानलाई राहत होस् भनेर १० लाखसम्मको कर्जामा मूल्यांकनकर्ता नचाहिने र २ करोडसम्मको कर्जा नवीकरणमा कर चुक्ता अनिवार्य नहुने व्यवस्था गरेका छौँ। साथै, कृषिजन्य उद्योगका लागि ५ करोडसम्म परियोजना धितोमा कर्जा दिने बाटो खुलाएका छौँ।"
समाधान: ऋण मात्र होइन, ‘मूल्य र बिमा’ को ग्यारेन्टी
लगानी बढाएर मात्र कृषि उँभो नलाग्ने गभर्नरको निष्कर्ष छ। उनले किसानको आम्दानी सुनिश्चित गर्न दुईवटा संयन्त्र अनिवार्य लागू हुनुपर्नेमा जोड दिए।
"अब ऋण दिएर मात्र पुग्दैन, किसानको जोखिम घटाउनुपर्छ," गभर्नर डा. पौडेलले भने, "पहिलो, किसानले उत्पादन गरेको वस्तुको न्यूनतम मूल्यको ग्यारेन्टी हुनुपर्छ र दोस्रो, उत्पादनको बिमा हुनुपर्छ। जबसम्म किसानले नाफा र सुरक्षा देख्दैनन्, तबसम्म यो क्षेत्रको सुधार सम्भव छैन।"