26/12/2025
पहिलो दल बन्दैछ नेपाली कम्युनिष्ट पार्टी
नेपाली कम्युनिष्ट पार्टी: नेपाली कम्युनिष्ट पार्टी नेपालको एक कम्युनिष्ट पार्टी हो । यस पार्टीको एकता घोषणा १९ कार्तिक २०८२ मा भएको थियो जसमा १० वामपन्थी दल र समूहहरूको विलयबाट पार्टी गठनको घोषणा गरेको थियो । विलयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जन समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लब विभाजित नेकपा, नेकपा (साम्यवादी) र गोपाल किराँतीको नेतृत्वमा रहेको देशभक्त समाजवादी मोर्चा समावेश छन् । एक महिनाको वार्ता पछि पार्टी एकीकरण समन्वय समितिले एकीकरण पुरा गरेको थियो । दुई प्रमुख पूर्ववर्ती दलहरू पछि विघटन भएका थिए, जसले नयाँ संयुक्त पार्टीको लागि बाटो खुलाएको थियो । पार्टीले पाँच कुने तारालाई आफ्नो चुनावी चिन्हको रुपमा अपनाएको छ ।
स्थापनाकाल देखि नै, यस पार्टीको प्रमुख घटक नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सभामा सबैभन्दा ठूलो राजनीतिक दल र बागमती, कर्णाली र सुदूर पश्चिम प्रदेशका प्रादेशिक सभाहरूमा सबैभन्दा ठूलो कम्युनिष्ट दल हो । नेपालका पूर्व प्रधानमन्त्री क. प्रचण्ड संयोजकको रूपमा र माधवकुमार नेपालले पार्टीको सहसंयोजक बनेका थिए भने पूर्व प्रधानमन्त्री झलनाथ खनाल तेस्रो वरियतामा छन् । (विकिपिडिया)
लक्ष्य र उद्देश्य: नेपाली कम्युनिष्ट पार्टीको लक्ष्य र उद्देश्य आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने र शान्तिपूर्ण ढंगले मुलुकमा नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापना गर्ने र मुलुकमा चीनमा जस्तै नेपाली मोडलबाट समृद्धि र विकासको शिखर चुमाउने रहेको छ ।
मुलुकको समृद्धि र विकास: “मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति हो । मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउने तर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ । गरिबीको रेखाभित्र रहेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता छ । मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औद्योगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गर्न सक्दछौं ।”
“मुलुकको समृद्धि र सामाजिक न्यायका क्षेत्रमा बाँकी जीवन समर्पित गर्छु । सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।” – क. प्रचण्ड संयोजक, नेपाली कम्युनिस्ट पार्टी
“सिङ्गापुरका तत्कालीन प्रधानमन्त्री लिक्वान युले आफ्नो मुलुकको सुधारको लागि साँस्कृतिक रूपान्तरणबाट सुधारको आरम्भ गरेका थिए । चीनमा समेत केही आलोचनाको बावजुद त्यहाँको साँस्कृतिक क्रान्तिलाई कम महत्वपूर्ण भन्न सकिदैन । हालको अवस्थामा नेपालको सुधारका लागि प्रत्येक क्षेत्रमा न्यूनतम सुधारका प्रयासहरु थालनी नगरेसम्म मुलुकको विकास र समृद्धि सम्भव छैन ।”
आदरणीय मित्रहरू, पहिले समाजवादी मुलुक चीनलाई हेरौं न । केही दशक अघि सम्म समृद्धि र विकासको गतिमा कमजोर रहेको चीन आज आर्थिक रुपमा विश्वकै महाशक्ति बन्न पुगिसकेको छ । सिंगापुर, अस्ट्रेलिया, कोरिया, जापान कहाँबाट कहाँ पुगिसके तर हामी नेपाली जहाँको त्यही छौं । मुलुकको समृद्धि र विकासको लागि नेपालका विशिष्ट व्यक्तिको धारणाको जानकारी हामीलाई पहिले नै भइसकेको छ । यसमा थप के भन्न चाहन्छु भने मुलुकको समृद्धि र विकासको लागि नेपाल सरकार, सम्पूर्ण नेपाली पार्टीका नेता र कार्यकर्ताहरु तथा सम्पूर्ण ३ करोड नेपाली जनताहरु एकजुट हुनुपर्दछ । हामीले चीन लगायतका विकसित देशहरूमा हाम्रा प्रतिनिधि पठाएर त्यहाँको समृद्ध र विकासबारे अध्ययन गर्नुपर्दछ । नेपालको राष्ट्रिय सम्पत्ति र विदेशबाट देश विकासका लागि आउने सहयोग रकमको उचित व्यवस्थापन गर्नुपर्दछ । सबै नेपालीले आफ्नो मुलुकलाई माया गर्नुपर्दछ र नेपालमै केही गर्नुपर्दछ भनेर भावना जागृत गर्नुपर्दछ । नेपालमै बसेर जे पनि गर्न सकिन्छ भनेर नेपालीहरु एक आपसमा हातेमालो गर्नुपर्दछ । विश्व मानचित्रमा गौतम बुद्ध र मिलन आफन्तजस्ता नेपालीहरू धेरै नै अघि बढिसकेका छन् । अब आफूले जानेको सीप र कौशलको उपयोग नेपालमै गर्नुपर्ने आवश्यकता छ । म पाँच दशकको वरिपरि पुगेको छु तर पनि म विदेश गएको छैन । नेपालमै बसेर नेपाल आमाको मुहार हँसाउन आफ्नो क्षमता र प्रतिभाले भ्याएसम्मको योगदान नेपालमा नै पुर्याउने निर्णय गरेको छु । म चाहन्छु, म आफ्नो अन्तिम श्वास नेपालमै फेर्न पाउँ र नेपाली माटो छातीमा राखेर यही नेपालमा नै सदासदाको लागि निदाउन पाउँ ।
“जननी जन्म भूमिस्च, स्वर्गादपी गरियसी” भन्ने उद्गारलाई चरितार्थ गर्दै अब नेपाल र नेपालीलाई समृद्धि र विकासको चुलीमा पुर्याउने अभिभारा हामी नेपालीको नै हो । आऔं मित्रहरु, केही दशकभित्र नेपाललाई चीन, सिङ्गापुर र जापानको स्तरमा पुर्याउन आजैदेखि कम्मर कसेर लागौं !
समाजवाद स्थापना: नेपालको संविधानमा समाजवादको उल्लेख भएपनि त्यसको व्याख्या भएको छैन । हाम्रो पार्टीले ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनबाट “एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो” नामक प्रतिवेदनमा समाजवाद सम्वन्धि सिद्धान्त, दृष्टिकोण, रणनीति र कार्यनीति बारे दिशा निर्देश गरेको छ । पार्टीले वैज्ञानिक समाजवादको मूल्य मान्यतामा आधारित रहेर समाजवादको निर्माणमा जोड दिएको छ । यस अघि अभ्यास गरिएका समाजवादका सबल र दुर्बल पक्षबाट शिक्षा लिएर नयाँ मोडलको समाजवादको आधार तयार गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पार्टीको काँधमा आएको छ । त्यो लक्ष्य हासिल गर्न पार्टी वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक एवं साँस्कृतिक रूपान्तरणमा केन्द्रित भइरहनु पर्दछ । समाजलाई एकताबद्ध गर्दै उत्पीडित वर्ग र जनसमुदायका अधिकार प्राप्तिका लागि निरन्तर संघर्षरत हुनुपर्छ ।
आज करिब डेढ दर्जन कम्युनिष्ट, क्रान्तिकारी र वामपन्थी पार्टी बीच एकता सम्पन्न भएको छ । जसबाट हामीलाई समाजवादको लागि अघि बढ्न केही सजिलो पर्दछ । तसर्थ आज नेपालमा समाजवादको चर्चा घनिभूत रुपमा भएको छ । अब हामी नेपाली कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता र सम्पूर्ण जनताहरु मुलुकमा समाजवाद स्थापनाको लागि अघि बढ्नु पर्दछ तब मात्र मुलुकमा समृद्धि र विकास सम्भव छ। आगामी निर्वाचनमा पहिलो दल बनेर सुशासनको नयाँ अध्याय थाल्नेछ।
लेखक: शिशिर श्रेष्ठ
भरतपुर